प्रहरीमा आफैं उपस्थित हुँदै पल शाह



काठमाडौं – अभिनेता पल शाहले प्रहरीसामू आत्मसमर्पण गर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पल शाहले आफै प्रहरी कार्यालय उपस्थित हुने घोषणा गरेका हुन्।

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन्। ‘नेपालको कानूनलाई सम्मान गर्दै प्रहरीसामु म आफैं आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ शाहले लेखेका छन्।

साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ छ।

उनले थप लेखेका छन्, ‘मेरो फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छ।’

एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन्।

शाहविरुद्ध ती गायिकाले गत बुधबार जाहेरी दिएकी थिइन्।