शिक्षकद्वारा बलत्कृत छात्राबाट छोरी जन्मिइन्, संलग्न शिक्षकहरुको खोजी गर्दै प्रहरी



बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो ।

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो । केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् ।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए । उनले भने, “घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताए।

उनले भने, “यो कुरा बाहिर आइसकेपछि हामीले घटनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ । सुरक्षाका लागि पनि किशोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ ।” किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।