

दाउन्नेमा पहिरो, सातदिनपछि खुलेको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध

नवलपुर । सातदिनपछि सहजरुपमा खुलेको पूर्वपश्चिम राजमार्ग शुक्रबार रातीदेखि फेरि अवरुद्ध भएको छ । प्रायः वर्षायाममा पहिरो गएर यातायात अवरुद्ध भइरहने पश्चिम नवलपरासीको दाउन्नेमा शुक्रबार मध्यराती गएको पहिरोले सडक अवरुद्ध गरेको हो ।
दाउन्नेको खुर्सानी खोला नजिक शुक्रबार बिहान करिब २ बजेतिर पहिरो गएकाले यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो पन्छाउने क्रम जारी छ । तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन सकिएको छैन । नवलपरासी क्षेत्रमा बिहीबार रातिदेखि नै पानी परिरहेको छ ।
पूर्वबाट आइरहेका गाडीहरुलाई दुम्कीवासमा र पश्चिमतर्फबाट आइरहेका गाडीहरुलाई बर्दघाटमा रोकिएको छ ।