आज कृष्णाष्टमी, देशभर भगवान् कृष्णको पूजा गरी मनाइँदै, पाटनको कृष्णमन्दिर नखुल्ने



काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

तर, कोरोना भाइरसको महामारीका कारण यस वर्ष पनि अघिल्लो वर्षझैँ मठमन्दिर खुलेका छैनन् । तथापि यो वर्ष पनि भक्तजनहरु मन्दिरका गेटसम्म पुगेर भगवान श्रीकृष्णको दर्शन गरिरहेका छन् । कयौँले घरमै भगवान श्रीकृष्णको पूजाआजा गरिरहेका छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक विश्वास छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

कृष्णजन्माष्टमीमा यस वर्ष सरकारले सार्वजनिक बिदा दिएको छ । २०६४ सालपछि कटौती गरिएको कृष्णजन्माष्टमीको बिदा फेरि दिइएपछि सनातन धर्मावलम्बीले सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

पाटनको कृष्ण मन्दिर बन्द

कोरोना महामारीका कारण पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिर यस वर्ष पनि बन्द गरिएको छ ।

हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने गरेकोमा कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि मन्दिर बन्द नै गरिने भएको छ भने मेला पनि हुन निदइने भएको छ ।

सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए ।

उनले भने, ‘आवश्यक अनि सीमित व्यक्ति बसेर भगवानको पूजापाठ आदि कर्म गर्नेछौँ । मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न दिन्नौँ ।’

यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘रोगको ख्याल गरी कहीँकतै भीड हुन दिने छैनौँ ।’

कृष्णाष्टमी पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने सहमति जुटेकाले भिडभाड हुन नदिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए ।