सशस्त्रको अगुवाइमा डुबानमा परेका १०४ को उद्धार



कञ्चनपुर । दोदा नदीको बाढीबाट डुबानमा परेका पुर्नवास नगरपालिका–५ सिमरीका परिवारलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार डुबानमा परेका १०४ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरीका जवानसँगै नेपाल रेडक्रसका स्वयंसेवकहरूले डुबानमा परेका परिवारलाई उद्धार गर्नमा सघाएका छन् । चुरे क्षेत्रमा भएको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा गएराति पानी बस्तीमा पसेपछि सिमरी गाउँ पुरै डुबानमा परेको हो ।

बाढीको पानी गाउँमा पसेपछि स्थानीय किसानले लगाएको धान, उखु, मकैलगायतको बालीमा समेत नोक्सानी पु¥याएको छ । बाढीको पानीकै कारण हुलाकी राजमार्गको आवागमनसमेत प्रभावित भएको थियो । बाढीका कारण घर डुबानमा परेकाको तत्काल उद्धार गरिएको र तिनीहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइसकेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज रानाले बताए।

माटोको गा¥हो प्रयोग गरी बनाइएका कच्ची घरहरू भत्किएका छन् । घरमा फर्किने अवस्था नआउँदासम्म पीडितलाई खाना बस्न र औषधि उपचारका लागि नगरपालिकाले व्यवस्था गर्ने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताए। डुबानमा परेका परिवारको खाद्यान्न, लताकपडा सबै कामै नलाग्ने अवस्थामा रहेको छ । दुई दिनदेखि लगातारको चुरे क्षेत्रमा भएको वर्षापछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका बस्ती डुबानमा परेका हुन् ।