

कोरोनाबाट नेपालमा ७३ पुरूष र २२ महिलाको मृत्यु

काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । नेपालमा ७३ पुरूष र २२ महिला गरी जम्मा ९५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्दै आएको कोरोना अपडेटमा बुधबार ९१ जनाको मृत्यु भएको उल्लेख गरिएको थियो । त्यसपछि अहिलेसम्म थप चार जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ ।
बिहीबारको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको पुष्टी गरेका छन् ।
महोत्तरीका ४५ वर्षीय एक पुरुष, धनुषाका मिथिलाकी ८५ वर्षीया महिला, अछाम जिल्ला रामरोशन गाउँपालिकाका १८ वर्षीय एक युवकको पाटनमा मृत्यु भएको छ । त्यस्तै मोरङ विराटनगरका ५७ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालभर ५ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने यससँगै हालसम्म संक्रमित हुनेको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।