

विश्वमा कोरोनाको सङ्क्रमण अझै लामो समयसम्म रहने विज्ञकाे अनुमान

काठमाडाैं – विश्वमा कोरोना भाइरसको सङ्क्रमण अझै लामो समयसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार आउँदा केही वर्षमा यो अन्य सरुवा रोग जस्तै बन्न सक्ने सम्भावना छ ।
अमेरिका र नर्वेका विज्ञ सहभागी टिमले गरेको अध्ययनले आउँदा दिनमा कोरोना भाइरसले खोप नलगाएका स-साना बालबालिकालाई धेरै असर गर्ने देखिएको छ । धेरैजसो वयस्क र ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले अब बालबालिका बढी जोखिममा रहेका विज्ञले बताएका छन् ।
साइन्स एड्भान्सेजमा प्रकाशित प्रतिवेदन अनुसार कोरोनाको भाइरसले पनि इन्फ्लुएञ्जा भाइरस जस्तै स्वरुप परिवर्तन गरिरहने भएकाले केही वर्षपछि यो स्थानीय सरुवा रोग जस्तै सामान्य बन्दै जाने छ ।
अहिलेसम्म कुनै-कुनै महामारीले केही वर्षसम्म फैलिएर असर गर्ने गरेर र त्यसपछि स्वरुप बदलेर अन्य सरुवा रोग जस्तै बन्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । तर, कोरोना भाइरसका कारण ज्यान जाने जोखिम धेरै भएकाले सबैलाई खोपको पहुँचमा पुर्याउनु पर्ने र खोप लगाउन प्रेरित गर्नु पर्नेमा प्रतिवेदनले जोड दिएको छ ।