बौंदीकालीमा साउन ७ र ८ मा भेरोसेल खोप लगाइँदै, ५५ वर्षमाथिकालाई उपस्थित हुन गाउँपालिकाको आग्रह



नवलपुर । पूर्वी नवलपुरको पहाडी बौंदीकाली गाउँपालिकामा यही साउन ७ र ८ गते कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

सरकारद्वारा घोषित गरिएको लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।

गाउँपालिकाले एक सूचना प्रकाशित गर्दैै आगामी ७ र ८ गते गाउँपालिकाअन्तर्गतका ६ वटै वडाका स्वास्थ्य केन्द्रमा ५५ वर्ष र सो भन्दा माथिको उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउने तयारी गरिएको सुवेदीले बताए ।

त्यस्तै विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुका साथै सरकारले तोकका अत्यावश्यक सेवामा संलग्न अन्य खोप लगाउन छुटेका कर्मचारी र खोप अनिवार्य गरेको देशमा वैदेशिक रोजगारमा जाने नागरिकलाई उक्त दुई दिन सम्बन्धित स्वास्थ्य केन्द्रमा उमेर खुल्ने कागजातका साथै नागरिकता, शिक्षक कर्मचारीको हकमा संस्थाको परिचयपत्र र विदेश जानेको हकमा भिषा र राहदानीको प्रतिलिपि लिएर उपस्थित हुन अनुरोध गरिएको छ ।

प्रशासकीय अधिकृत सुवेदीका अनुसार बौंदीकालीका १, २, ३, ४ र ६ नम्बर वडाका स्वास्थ्यकेन्द्रहरुमा ७ र ८ गते लगाइने जनाइएको छ भने वडा नं. ५ को स्वास्थ्य इकाइमा भने साउन ७ गतेमात्रै खोप लगाइनेछ ।

गाउँपालिकामा यसअघि सरकारले कोभिशिल्ड खोप लगाएको थियो । ६० वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुले लगाएको कोभिशिल्डको दोस्रो चरणको खोप नआइपुगेकोले ती खोप लगाएका नागरिकको तथ्यांक सम्बन्धित निकायमा जानकारी गराएको पनि गाउँपालिकाले जनाएको छ ।

No photo description available.