

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गरिने

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ ।
अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो । यस प्रयोजनका लागि करिव १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई बितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।
यसबाट सहभागीहरुलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पुर्याउने छ भन्ने विश्वास कोषले लिएको पाइएको छ ।
उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरिएको छ । कोषले यस कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको छ । साथै, नागरिक लगानी कोषबाट संचालित अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले जानकारी दिएको छ ।