अप्पर तामाकोशीले सोमबारदेखि बिजुली निकाल्ने, पहिलो चरणमा ७६ मेगावाट गोंगर–खिम्ती–ढल्केबरबाट राष्ट्रिय प्रसारणमा



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आउँदो सोमबारदेखि विद्युत उत्पादन हुने भएको छ । पहिलो चरणमा ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी परीक्षणका काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

७६÷७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट यही असार २१ गतेदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु गर्ने तालिका तय गरिएको हो । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट आउँदो सोमबारदेखि विद्युत् उत्पादनको तालिका तय गरेको हो ।

टोलीले विद्युत गृहमा भइरहेको उपकरणहरुको परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यु खिम्ती सबस्टेसनलगायत अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरुसँग छलफल गरेको थियो । ‘विभिन्न समस्या झेल्दै आएको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन गर्ने अवस्थामा पुर्‍याएका छौं । सम्पूर्ण परीक्षणहरु अन्तिम चरणमा पुगेका छन्, अब कुनै प्राविधिक समस्या नआएमा सोमबार बिहान स्वीच अन गरी पहिलो युनिबाट विद्युत् उत्पादन शुरु गर्छौ’, शाक्यले सुनाए ।

आयोजनाबाट उत्पादित विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ । यसका लागि प्रसारणलाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको परीक्षण भइरहेको छ ।

सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यु खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारणलाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिनेछ । आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पुहँच सडक, पुललगायत पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२र६३ मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७र६८ मा शुरु भएको थियो ।