

नवलपुरका पोखरेलले लिए गण्डकीको मुख्यमन्त्री पदमा विश्वासको मत

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानमै रहेर पोखरेलले एक साताभित्रै विश्वासको मत लिएका हुन् ।
यससँगै तत्कालका लागि नवलपुरबाट प्रतिनिधित्व गरेका प्रदेश सभा सदस्य पोखरेलले मुख्यमन्त्री पद पक्का गरेका छन् ।
पोखरेलले शुक्रबार प्रदेश सभाबाट संविधानको धारा १६८ (६) विश्वासको मत पाएका हुन् । उनको विपक्षमा २७ जना प्रदेश सभा सदस्यमात्रै रहेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । प्रतिपक्षी दल एमालेका २७ सदस्य विश्वासको मतको विपक्षमा रहेका हुन् ।
५८ जना मत विभाजनमा सहभागी भएकोमा ३१ जनाले पक्षमा मतदान गरे । कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका दुई—दुई र स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले पोखरेलको पक्षमा मतदान गरेका हुन् ।