

विश्वकप फुटबल छनोट: जोर्डनसँग नेपाल ३-० ले पराजित

काठमाडौं – विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ।
जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
खेलमा जोर्डनले सुरुदेखि नै नेपाललाई दबाबमा राखेको थियो । जोर्डनले गोलका लागि कयौं अवसर प्राप्त गरे पनि नेपाली रक्षापंक्ति र गोलकिपर किरण चेम्जोङले विफल तुल्याइदिएका थिए । नेपालले मध्यान्तरपछिको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्ने आकर्षक अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन ।
नेपालका नवयुग श्रेष्ठ ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न चुकेका हुन् । समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ। यसअघि चाइनिज ताइपेईलाई २-० ले पराजित गर्दै आत्मविश्वासी रहेको नेपालले जोर्डन विरुद्ध भने गोल गर्न सकेन ।