आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन



धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भए अनुसार सरकारले सोमबार विश्वासको मत लिन खोजेको तर नेपाली काँग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य आजका लागि सरेको हो ।

सुदूरपश्चिममा नेकपा (एमाले)को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो । प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो।

विपक्षमा मतदान गर्न एमालेको निर्देशन

एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका छन्।

माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने भएकाले एमालेले विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले बताए । ५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ ।

अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् । एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा ९ सदस्य छन् ।

पूर्वनेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नेछन्। कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।