

नागढुंगा सुरुङमार्गमा कार्यरत आधा कामदार साइट छाडेर घर फर्किए

काठमाडौं – निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोभिड–१९ को दोस्रो लहर देखा नपर्दासम्म आयोजनामा ६ सय ५० भन्दा धेरै कामदार कार्यरत थिए । घरका सदस्य र आफन्तमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै करिब तीन सय कामदारले साइट छाडेर गएका हुन् । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले कोभिड–१९ को दोस्रो लहरले सुरुङमार्ग आयोजनामा आशिंक प्रभाव देखिन थालेको बताए ।
‘आयोजनामा कार्यरत ३३ जनामा कोरोना संक्रमण देखिएसँगै कामदारहरू त्रसित भएर साइट छाड्ने बढिरहेका छन्,’ उनले भने, ‘कामदारका घरका सदस्य र आफन्त संक्रमित भएर पनि साइट छाड्ने बढेका हुन् ।’ आयोजना प्रमुख शाक्यले कार्यरतमध्ये ५० प्रतिशत कामदार कोभिड–१९ को मनोवैज्ञानिक त्रासको कारण साइट छाडेर घर गएको बताए ।
‘अहिले संक्रमित ३२ जनाको साइटकै आइसोलेसनमा र एकजनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने । आयोजनाले साइटमा नै अक्सिजनसहितको मेडिकल सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजना प्रमुख शाक्यले केही कामदारले साइट छाडेर गए पनि अहिलेसम्म सुरुङमार्ग निर्माणको काम भने प्रभावित भइनसकेको दाबी गरे । नागरिक दैनिक