

पाकिस्तानकाे होटलमा विस्फोट, कम्तीमा ४ जनाको मृत्यु

काठमाडौं – पाकिस्तानको सहर क्वेटास्थित महसुर सेरेना होटलमा विस्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई निशाना गरेर विस्फोट गराइएको हुन सक्छ ।
किनकी त्यतिबेला चिनियाँ राजदूत क्वेटामै थिए । पाकिस्तानको क्वेटा सहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमानजिक पर्छ । तर हमलाका बेला चिनियाँ राजदूत त्यही होटलमा थिएनन् ।
विस्फोट होटलको पार्किङ स्थलमा भएको थियो । हमलाको जिम्मेवारी पाकिस्तानी तालीबानले लिएको छ । पाकिस्तानका गृहमन्त्री शेख रासिद अहमदले एआरवाई न्युज टीभीलाई बताएअनुसार होटल परिसरमा राखिएको कार विस्फोट भएको हो, जुन कार विस्फोटक पदार्थले भरिएको थियो ।
पाकिस्तानको बलुचिस्तानमा लामो समयदेखि पृथकतावादी सक्रिय छन्, जो पाकिस्तानबाट स्वतन्त्र बन्न चाहन्छन् । त्यहाँ चीनले ठूलो परियोजना सञ्चालन गरेको छ । पृथकतावादी त्यसको विरोध गरिरहेका छन् । एजेन्सी