यसरी उडें पहिलोपटक अमेरिकाः महाविर पुन

सर्बप्रथम मलाई अमेरिका जाने टिकट किन्न कसले पैसा दियो भनेर धेरैले त्यो पैसा दिने दाताको नाम भन्न पनि अनुरोध गर्नु भएको रहेछ। नाम भन्न त मिल्दैन तर कसरी पैसा दिए भन्ने कुरा .भन्छु । मैले चिनेको एकजना मान्छे त्यति बेलाको शाही नेपाली सेनामा हुनु हुन्थ्यो । उहाँ शान्ति सेनामा लेबनानमा काम गरेर भर्खरै फर्कनु भएको रहेछ । उहाँलाई मेरो समस्या बताएँ। उहाँले “पैसा त छैन, मैले एउटा भिडियो हेर्ने डेक ल्याएको छु त्यसैलाई बेचेर पैसा बनाउ” भन्नु भयो। त्यति बेला डेकमा भिडियो क्यासेट हालेर टिभी स्क्रिनमा भिडियो हेर्ने चलन खुब चलेको थियो र त्यो निकै महँगो पनि थियो। मैले त्यो डेक काठमान्डूको न्युरोडको एउटा पसलमा लगेर १९ हजार ५ सयमा बेचें। त्यो पैसाले टिकट किन्न पुग्ने भयो र म ढुक्क भएँ किन भने त्यति बेलाको सटही दर २४ रुपैंयाको १ डलर थियो । त्यस पछि उति बेला धनकुटाको पाख्रिबास कृषि केन्द्रमा काम गर्ने एक जना साथीले पनि काठमाडौँ आएको बेलामा ८ हजार रुपैंया दियो। त्यो साथीलाई मैले चितवनमा स्कूल पढाउँदा चिनेको थिएँ । यसरी पैसाको समस्या समाधान भयो । अनि त्यो रुपैंयालाई डलरमा साट्दा कतिको झन्झट भयो भन्ने कुरा अस्ति नै भनि सकेको छु । शाही नेपाली सेनाको मलाई डेक दिने ब्याक्ति उहिले नै पेन्सन निस्कनु भयो। पाख्रिबास कृषि केन्द्रमा काम गर्ने साथी अहिले अमेरिकामा नै छ र बैज्ञानिक नै भएको छ।

अब काठमाडौँ बाट अमेरिकाको रमाइलो यात्राको कथा सुन्नु होस् – पहिलो कुरा त म कहिल्यै पनि हवाईजहाज न चढेको हुनाले एयरपोर्टमा पुगे पछि के के गर्नु पर्छ भन्ने कुरा केहि पनि थाहा थिएन। टिकट काटेर बस मा चढे जस्तै टिकट देखाएर जहाजमा चढ्ने होला भनि ठानेको थिएँ। अनि बिदेशका एयरपोर्टहरु कति ठुला हुन्छन भन्ने कुराको अड्कल मेरो दिमागमा नै थिएन। जहाज चढ्न यसो गर्नु पर्छ भन्ने कुरा सिकाउने कोहि पनि थिएन। अनि अर्को समस्या के थियो भने मैले गोराहरूले अंग्रेजी बोलेको अलि अलि मात्र बुझ्दथें र मलाई अंग्रेजी बोल्न आउंदैनथ्यो भने पनि हुन्छ । केहि कुरा अंग्रेजीमा बोल्नु पर्यो भने सोच्दै अकमकाएर भन्नु पर्थ्यो। नेपालमा गाउँको स्कूलमा पढेको र त्यस पछि १३ बर्ष सम्म गाउँको स्कूलमा नै पढाउँदा गोराहरु संग भेट्ने र अंग्रेजी बोल्ने अवसर नै मिलेन। अमेरिका पुगेर जबर्जस्ति अंग्रेजी बोल्नु पर्ने भएको थियो ।

जे होस धेरै दिनको दौड धुप गरेर पैसा खोजेर र डलरमा साटेर Thai Airlines को बैंकक जाने हवाई जहाजमा चढे पछि बल्ल मुटुको ढुक ढुकी कम भयो। अनि बैंककमा जहाज बाट बेलुकी ६ बजे उत्रे पछि के गर्ने भन्ने कुरा थाहा नै थिएन । अरु यात्रुहरुको पछि पछि गएँ र मेरो झोला लिएँ । अमेरिका जाने फ्लाइट भोलि पल्ट ११ बजे मात्र थियो। त्यसैले यतै कतै बस्ने ठाउँ होला कि भनेर खोज्न थालेँ। कहिँ पनि बस्ने ठाउँ देखिन। अनि एयरपोर्टमा काम गर्ने एक जनालाई होटेल छ कि भनेर सोधें। उसले एयरपोर्ट भित्र भित्र मलाई लगेर एउटा होटेलमा राखिदियो। कति पैसा भनेर सोध्ने आँट पनि आएन। त्यो एयरपोर्ट होटेल रहेछ र त्यहाँ गएर नरम बेडमा आनन्दले सुतियो। भोलि पल्ट बिहान पैसा तिर्न बेलामा १२५ डलर लाग्यो भनेर भन्यो। अनि मेरो त सातो पुत्लो नै उड्यो किन भने बल्ल बल्ल जोडेको त्यति धेरै पैसा एकै रातमा गयो ।

होटेल बाट गएर बल्ल तल्ल बोर्डिंग पास लिएर बैंकक बाट अमेरिका जाने जहाज चढियो । जहाज अमेरिकाको पश्चिमी किनारको सियाटलमा ओर्लियो। म पनि अरु यात्रुहरु संग संगै ईमिग्रेसन तिर लागें। ईमिग्रेसन बाट बाहिर आएर झोला लिने ठाउँमा गएर झोला लिएँ । त्यस पछि अरु मान्छे हरु जता जता जान्छन म पनि त्यतै त्यतै लागें। यसो गर्दा म त्यत्रो ठुलो एयरपोर्टमा हराएँ र सियाटल बाट डेनभर जाने टर्मिनल नै पत्ता लगाउन सकिन। पसिना काड्दै यता उता दौड धुप गरेर बल्ल तल्ल जहाजको काउन्टरमा पुगें। त्यहाँ पुगे पछि मैले टिकट देखाएँ। अनि त्यहाँ भएको एउटी महिलाले “तिम्रो फ्लाइट त आधा घण्टा अगाढी नै उडिसक्यो” भनेर भनिन । अनि त कान पनि तातो भयो। मैले अंग्रेजीमा नै – what to do – भनें। उनले मेरो टिकट लिएर एकछिन पछि बोर्डिंग पास दिईन र अर्को फ्लाइटको गेट सम्म नै पुर्याई दिई न। मलाई पक्कै पनि पैसा माग्छन जस्तो लागेको थियो तर मागेनन। त्यसैले ढुक्क भयो। अनि डेनभरको लागी उडियो।

सियाटल बाट त्यहि बेलुकी ८ बजे तिर कोलोराडोको डेनभर एयरपोर्टमा जहाज उत्रियो। जहाज बाट झरेर नेब्रास्का जाने अर्को जहाजमा चढ्नु पर्ने थियो। जहाज बाट ओर्ले पछि अरु संगै म झोला लिने ठाउँ मा गएर झोला कुरेर बसें। सबैजनाले आ-आफ्नो ब्यागेज लिएर गई सक्दा पनि मेरो झोला आएन। निकै बेर कुर्दा पनि झोला आएन। अनि म त्यो जहाजको काउन्टर खोज्दै खोज्दै त्यहाँ पुगेँ र मेरो झोला आएन भनें । त्यो काउन्टरमा बसेको मान्छेले मेरो टिकट हेरेर भन्यो – “जहाज गइ सक्यो र तेरो झोला पनि नेब्रास्का गइ सक्यो । ४५ मिनट भयो गएको। ” अनि त म रुन मात्र सकिन। बोल्न पनि आएन। खास भएको के रहेछ भने सियाटलमा मैले चेक इन गरेको ब्यागेज सोझै अन्तिम गन्तब्य स्थल सम्म जान्छ र त्यहीं गएर झोला लिनु पर्छ भन्ने कुरा मलाई थाहा थिएन। यस्तो कुरा कसैले मलाइ भनेको थिएन। त्यो कुरा थाहा नभएर मैले डेनभर एयरपोर्टमा झोला पर्खिंदा पर्खिंदै जहाज छुटेको रहेछ।

अनि त्यो डेनभर एयरपोर्टको काउन्टरमा भएको मान्छेलाई – what to do – भनेर भनें। त्यो काउन्टरमा बसेको मान्छेले मेरो टिकट लिएर भित्र गयो र एक छिन पछि फर्क्यो। मलाई एउटा सानो कागजको टुक्रा दियो र “उ त्यो गेट बाट बाहिर एउटा निलो गाडी आउँछ, त्यसैमा चढेर जानु र भोली बिहान ९ बजे यहिँ आउनु र जहाज चढ्नु ” भनेर भन्यो। त्यो कागजको टुक्रा मुठीमा समातेर म गेटको बाहिर पुगें। ३ मिनट जतिमा गाडी आयो र म यसैमा चढें। गाडीले मलाई लगेर होटेलको काउन्टरमा पुर्याइ दियो। होटेलको काउन्टरमा मैले त्यहि कागजको टुक्रा दिएँ। त्यो कागजमा के लेखेको छ भनेर मैले हेर्दै हेरिन। होटेलले एउटा कोठामा लगेर मलाई राख्यो। बैंककको होटेलमा १२५ डलर तिरेर तर्सेको हुनाले मेरो कान फेरि तातियो। “यहाँ पनि पैसा तिर्नु पर्ने भयो” भनेर रात भरि निन्द्रा नै लागेन। भोलि पल्ट बिहान होटेलको काउन्टरमा गएर साँचो बुझाएर पैसा कति लाग्छ भनेर सोधें। उसले पैसा लाग्दैन, एयर्लाइन्सले तिर्छ भन्यो। अनि बल्ल राहतको सास फेरियो। एयरपोर्ट पुगेर नेब्रास्का जाने जहाजको बोर्डिंग पास लिन गएँ । मेरै गल्तीले जहाज छुटाएको भएता पनि त्यहाँ पैसा मागेन। अनि जहाज चढेर नेब्रास्का पुगियो।

उति बेलाको अमेरिकामा जस्तो आजभोली त्यहाँ छैन। आजभोली त कसैले हवाईजहाज छुटायो भने अर्को टिकट किन्नु पर्ने हुन्छ र बाटो हराएको मान्छे भनेर सितिमिति दया गर्दैनन्। अनि होटेल पनि फ्रिमा उपलब्ध गराउदैनन।

नेब्रास्का एयरपोर्टमा पुगेर अघिल्लो दिन पुगेको झोला लिईयो। त्यहाँको काउन्टरमा बसेकी महिलालाई त्यहाँको युनिभर्सिटिमा पढ्न आएको कुरा भनें । अनि how to go to university भनेर सोधेँ। उनले कलेजमा फोन गरिन र एकजना मान्छे लिन आउँछ भनिन। केहि समयमा एक जना मान्छे आएर मलाई युनिभर्सिटीमा पुर्यायो र सोझै admission office मा लग्यो। एक घण्टा भित्रमा के के हो कागजपत्र भरेर छात्राबासको कोठामा लग्यो र कोठा खोलेर मलाई त्यहाँ राख्यो। त्यस पछि तुरुन्तै त्यहि खाटमा पल्टेर १२ घण्टा सम्म सुतियो। जिन्दगीमा आनन्द संग मस्तले सुतेको दिनहरु मध्य त्यो पनि एउटा सम्झनु पर्ने दिन थियो। लौ काठमाडौँ देखि नेब्रास्का अमेरिका सम्मको यात्रा कहानी यत्ति नै हो. सके सम्म छोटकरीमा भनेको छु. कथा सुन्नु भएको मा धन्यबाद ।

(यो उनको फेसबुक स्टाटसबाट साभार गरिएको हो । -सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *