हाम्रो बसाईलाई सहज बनाएकोमा भारत र भारतीयप्रति आभारः पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भारत बसाइलाई सहज बनाएकोमा भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका पूर्वराजाले सोमबार विज्ञप्ति जारी गरी भारत बसाइलाई सहज बनाएकोमा भारत सरकारलाई धन्यवाद दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, शाही स्नान अवधिमा सम्पूर्ण हिन्दू धर्मालम्बीहरूको तर्फबाट हामीलाई गरिएको अभिनन्दन र आशिर्वचनका लागि पनि हामी आभार ब्यक्त गर्दछौँ । हाम्रो भारत बसाइलाई सरल र सहज बनाउने व्यवस्थाको लागि हामी भारतीय जनता र भारत सरकारप्रति पनि आभार व्यक्त गर्न चाहान्छौं ।’

यस्तो छ पूर्वराजाको विज्ञप्तिः

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हार्दिक कृतज्ञता, आभार तथा धन्यवाद बक्सः

निरन्जन अखाडाका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीको निमन्त्रणामा हामी पवित्र तिर्थस्थल हरिद्वारमा हरेक १२ बर्षमा सम्पन्न हुने महाकुम्भमेला अनुष्ठानमा सहभागी भएर स्वदेश फर्केका छौं ।

हाम्रो यो महत्वपूर्ण धार्मिक भ्रमणका क्रममा हरिद्वारमा भएको हाम्रो बिशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति निरन्जन पीठका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीमा तथा समस्त सन्त महात्माहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

महाकुम्भमा शाही स्नान र गंगा आरतीको बिशेष प्रबन्ध मिलाउन अखाडा परिषदले लिएको दायित्व आफैमा अविस्मरणीय छ। शाही स्नान अबधीमा सम्पूर्ण हिन्दू धर्मालम्बीहरूको तर्फबाट हामीलाई गरिएको अभिनन्दन र आशिर्वचनका लागि पनि हामी आभार व्यक्त गर्दछौं ।

हाम्रो भारत बसाइलाई सरल र सहज बनाउने व्यवस्थाको लागि हामी भारतीय जनता र भारत सरकार प्रति पनि आभार व्यक्त गर्न चाहान्छौं । भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कदाँ विभिन्न संघसंस्था तथा नेपाली जनसमुदायबाट दर्साइएको स्वागत सम्मानका निम्ति हामी सबै शुभ चिन्तक दाजुभाइ दिदीबहिनीप्रति दिलैदेखि आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छौं । जय नेपाल ।
मिति स् २०७८ बैशाख ६ गते