

नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

नियामे – अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भीषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ ।
अग्नि नियन्त्रकहरूका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए ।
अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरूले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताए । तर आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरु भाग्न पनि सकेनन्, उनले भने ।
आगलागी शुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपी, आगलागीको खास कारण थाहा हुन सकेको छैन । प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गरेका थिए ।
विश्व मानव विकास सूचकांकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ । साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरुले परालले छाएका धेरै विद्यालय बनाएका छन् जहाँ बालबालिका प्रायः भुईँमा बसेर पढ्ने गर्दछन् । यी विद्यालयमा आगलागीका घटना भइरहन्छन्, तर यति भयानक आगलागी यसअघि भएको थिएन ।