

प्रहरीको गोली लागी युवक मारिएपछि अमेरिकामा सुरक्षाकर्मी र प्रर्दशनकारीबीच झडप

सेन्ट पल – ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीको गोली लागी एक अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव भएको छ ।
मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई ट्राफिक नियम उल्लंघनको आरोपमा गत आइतबार प्रहरीले कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा गोली चलाउँदा ती युवकको मृत्यु भएको थियो ।
सो घटनालगत्तै भएका प्रदर्शनले उग्र रूप लिएपछि अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यू लगाइएको बीबीसीले जनाएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयासमा अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड प्रहार गरेको छ । त्यसक्रममा प्रदर्शनकारीले कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि हानेका थिए ।
त्यहाँ लुटपाट पनि मच्चिएको विवरणहरू सार्वजनिक भएको छ । राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहार दुखद भएको भन्दै प्रदर्शन रोक्न आग्रह गरेका छन् ।