

महाकाली अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु

कञ्चनपुर – महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरे पछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । ‘भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर पाएको छु’, उनले भने, ‘अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।’
मृत्यु भएका कोरोना सङ्क्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो सङ्क्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।
हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेशनमा रहेका छन् । मङ्गलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ ।