

प्रचण्डले बाेलाए स्थायी कमिटी, बादललगायतका नेतालाई कारबाही गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने एक नेताले जानकारी दिएका छन् । बैठकमा शीर्ष नेता र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने छन् ।
सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता गणेश शाहले बताए। आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने उनको भनाइ छ।
यसअघि एकीकरणपछि पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड झिकेर एकीकरण पहिलेकै पार्टीको बोर्ड राखिने उनले बताए।
माओवादी केन्द्रका रामबाहदुर थापा ‘बादल’ टोपबहदुर रायमाझी, मणि थापा, लेखराज भट्ट र प्रभु शाह ओली पक्षमा लागेका छन्। बैठकले उनीहरुलाई पार्टीमा बोलाउने वा कारबाही गर्नेबारे पनि निर्णय गर्ने बताइएको छ।