७७ वटै जिल्लामा ‘कोरोना’ पुगेकै दिन नेपालमा ‘सलह’को प्रवेश



काठमाडौं । मानव जगतको विनाशकारी कोरोना भाइरस विश्वभरका करोड मानिसहरुमा देखिएकै दिन नेपालमा बोटविरुवाको विनाशकारी ‘सलह’ नेपाल प्रवेश गरेको छ । त्यस्तै अर्को संयोग पनि देखिएको छ, नेपालको ७७ औं जिल्ला रसुवामा कोरोना पुगेकै दिन सलह भित्रिएको छ ।

नेपाल प्रवेश गरेकै दिन तराई हुँदै पहाडी भेगसम्म फैलिइसकेको सलहका कारण आगामी वर्षका लागि खाद्यान्न अभाव हुने देखिएको छ । खेतीपातीको बेला सुरु भएको नेपालका अधिकांश खेतहरुमा धानको बीउ रहेको अवस्था छ, यही बेला सलह प्रवेशगरेसँगै धानको बीउ सखाप हुने अवस्था रहेको छ ।

त्यस्तै देशका अधिकांश स्थानमा मकै पाक्न लागेको अवस्था छ, पाक्नुअघि नै सलह लागेको खण्डमा मकै पाक्न नपाई काँचै अवस्थामा नै बिग्रने भएकाले आगामी वर्षका लागि मकै र धानको अभाव हुने स्पष्ट देखिएको छ ।

करोडौंको संख्यामा समूह बनाएर फट्यांग्रा प्रजातीको यस किराले विशेष गरी हरिया पातहरुलाई सखाप बनाउने गर्दछ । छिमेकी पाकिस्तान र भारतमा फैलिएको सलह नेपालमा नआउने कृषि मन्त्रालयको अध्ययन टोलीले दाबी गरेको थियो । तर मनसुन सुरु भएलगतै नेपालमा प्रवेश मात्र गरेन, एकै दिनमा बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा सलहको झुण्ड भेटिएको छ । सलहको हुलले एक दिनमा १३० देखि १५० किलोमिटरको दूरी पार गर्ने बताइएको छ ।

त्यस्तै सलह किरा दिनभर उड्छ र रातभर बास बस्छ । सलहको ठूलो झुण्डले बास बसेको ठाउँमा एकैरातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

विशेषगरी रुपन्देही, सर्लाही लगायतका क्षेत्रमा पहिलोपटक देखिएको सलह साँझसम्म पाल्पा, कास्की, गुल्मी, मकवानपुर, सिन्धुलीलगायतका पहाडी जिल्लाहरुसम्म देखिन पुगेको छ ।
त्यस्तै सलह किराको एक समूह पाल्पा र स्याङ्जाको सीमाना राम्दीबाट गण्डकीबेसी हुँदै पूर्वतिर उडेको देखिएको पनि स्थानीयहरुले बताएका छन् ।