‘एक घर, एक गीता’ अभियानलाई सार्थक बनाउँदै मुक्तिनाथ परिवारद्वारा गीता वितरण

वालिङ । धार्मिक, सांस्कृतिक तथा नैतिक मूल्यहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ् महचालन भइरहेको “एक घर, एक गीता” अभियान अन्तर्गत वालिङमा विशेष कार्यक्रम आयोजना गरी गीता पुस्तक वितरण गरिएको छ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) भरत राज ढकाल, मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध सञ्चालक, मुक्तिनाथ फाउण्डेसनका कार्यकारी अधिकृत तथा समाजसेवी देवि प्रसाद अर्याल, साथै मुक्तिनाथ विकास बैंक वालिङ शाखाका प्रमुख नविन काफ्ले लगायतलाई गीता पुस्तक हस्तान्तरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि भरत राज ढकालले “एक घर, एक गीता” अभियानले समाजमा नैतिक चेतना, अनुशासन र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले गीता केवल धार्मिक ग्रन्थ मात्र नभई जीवन जिउने मार्गदर्शन दिने दार्शनिक ग्रन्थ भएको उल्लेख गर्दै, यसबाट प्रेरणा लिएर समाज र राष्ट्र निर्माणमा लाग्न सबैलाई आग्रह गरे ।

त्यसैगरी मुक्तिनाथ फाउण्डेसनका कार्यकारी अधिकृत तथा समाजसेवी देवि प्रसाद अर्यालले गीता जस्ता शास्त्रीय ग्रन्थ प्रत्येक घरमा पुग्न सके समाजमा व्याप्त विकृति, विसङ्गति र नैतिक ह्रासलाई न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरे । उनले फाउण्डेसनमार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ विस्तार गरिने पनि जानकारी दिए ।

मुक्तिनाथ विकास बैंक वालिङ शाखाका प्रमुख नविन काफ्लेले बैंक केवल वित्तीय कारोबारमा सीमित नरही सामाजिक, शैक्षिक र सांस्कृतिक अभियानहरूमा समेत सक्रिय रूपमा सहभागी हुँदै आएको बताए । “एक घर, एक गीता” अभियानले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले संयुक्त रूपमा गीता ज्ञानले व्यक्ति, परिवार र समाजलाई सही बाटोमा अघि बढ्न प्रेरित गर्ने बताउँदै, यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

विश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलको अगुवाइमा सम्पन्न सो कार्यक्रममा स्थानीय बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *