घरमा लागेको आगोमा परि बुहारीको मृत्यु, ससुरा घाइते
काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । भान्सामा प्रयोग भइरहेको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आगलागी हुँदा घरभित्रै रहेकी दुर्गामान बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जन आगलागीमा परेको र आगो अत्यन्त तीव्र भएकाले उनलाई बाहिर निकाल्न नपाउँदै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
आगलागीमा ससुरा दुर्गामान बम्जन घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले जलाएको छ । घाइते बम्जनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जनाउँदै तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।
