अब उठ्ने भयो काठमाडौंको फोहोर, बञ्चरेडाँडाबासीसँग सहमति

काठमाडौं । फोहोर व्यवस्थापन अवरुद्ध भएपछि सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार नुवाकोटको बञ्चरेडाँडा पुगेका छन्। चार दिनदेखि स्थानीयवासीले फोहोर फाल्न रोक लगाएपछि मन्त्री घिसिङसहित उच्च सरकारी टोली स्थलमा पुगेको हो।

मन्त्री घिसिङले बञ्चरेडाँडा ल्यान्डफिल साइटको अवलोकन गर्दै फोहोर प्रभावित क्षेत्रका स्थानीय, जनप्रतिनिधि र सरोकारवालासँग अन्तरक्रिया गरेका छन्। उनले विगतमा भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको स्वीकार्दै १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

ककनी गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर बलामीका अनुसार फोहोरका कारण स्थानीयवासी दुर्गन्ध र रोगको जोखिममा परिरहेका छन्। स्थानीयहरूले २०७९ सालमा भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै बुधबारदेखि फोहोर विसर्जन रोक्दै आएका थिए।

मन्त्री घिसिङले समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर रहेको बताउँदै सहमति पालना हुनेमा आश्वस्त गराएपछि आइतबारदेखि बञ्चरेडाँडामा फोहोर फाल्ने काम पुनः सुरु हुने भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *