प्रेसको ‘विषालु’ अवस्थाबाट परिवार जाेगाउन जिम्मेवारी छाडेको ह्यारीको स्पष्टोक्ती

लन्डन । ब्रिटेनका ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले आफू र उनको परिवारलाई यूकेको प्रेस अर्थात पत्रकारिता जगतले सिर्जना गरेको ‘विषालु’ अवस्थाबाट जोगाउन राजकीय जिम्मेवारीहरूबाट अलग हुनु परेको बताएका छन्।

राजकुमार ह्यारीले एउटा टेलिभिजन कार्यक्रम प्रस्तोता जेम्स कोर्डेनलाई दिएको अन्तर्वार्ताका क्रममा यूकेको प्रेसका कारण उत्पन्न वातावरणका कारण ‘आफ्नो मानसिक स्वास्थ्यमा क्षति पुग्न लागेको’ र त्यस्तो अवस्थामा आफूले ‘कुनै पनि पति वा पिताले चाल्ने कदम नै अवलम्बन गरेको’ बताएका छन्।

गत हप्ता बकिंघम राजदरबारले राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजकीय जिम्मेवारीमा नफर्कने तथ्यको पुष्टि गरेको थियो।

राजकुमार ह्यारीले आफूहरूले त्यस्तो ‘जिम्मेवारी त्यागेको नभइ बरू पछाडि हटेको’ भन्नेमा जोड दिए।

दोस्रो बच्चाको जन्मको पर्खाइमा रहेको उक्त राजकुमार दम्पति आफ्ना एक वर्षिय पुत्र आर्चीका साथ अमेरिकाको क्यालिफोर्नियामा बसाइ सरेको थियो।

उनीहरूले गत ज्यानुअरी महिनामा अब राजपरिवारको वरिष्ठ सदस्यको हैसियतले निभाउनु पर्ने भूमिका परित्याग गर्ने योजनाको घोषणा गरेका थिए।

ह्यारी र मेगन छोरा आर्चीका साथ

त्यो बेला उनीहरूले आफूहरू आर्थिक हिसाबले पनि स्वतन्त्र हुनको लागि कमाइ हुने काम गर्न चाहेको बताएका थिए।

गत हप्ता बकिंघम राजदरबारले एक विज्ञप्ति जारी गर्दै त्यसबेलाका प्रावधानहरूको समीक्षापछि ड्युक र डचिस् अब आफ्नो पुरानो राजकीय जिम्मेवारीमा नफर्कने निर्णय भएको जनाएको थियो।

त्यस्तो निर्णयको परिणाम स्वरूप तिनीहरूले आफूलाई प्राप्त मानार्थ सैनिक पदवी र राजकीय संरक्षकत्व फिर्ता गर्नु पर्ने हुन्छ। -बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *