

फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन पारित

काठमाडौं – फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ ।
यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको थियो । यद्यपि यसै हप्ता सरकारका प्रतिनिधिसँग वार्ता गरेपछि फेसबुकले आफ्नो निर्णय फिर्ता लिएको थियो ।
यही वार्ताको आधारमा सरकारले तल्लो सदनमा पेश गरेको प्रस्तावित कानुनमा संशोधन गरेको थियो र केही विषयमा दुवै कम्पनीहरुलाई नयाँ कानुनमार्फत् केही राहत मिल्ने प्रावधान राखिएको छ । तर दुवै कम्पनीहरुलाई अष्ट्रेलियाका ठूला प्रकाशकहरुलाई आकर्षक रकम दिनका लागि प्रतिबद्ध गराइएको छ । यद्यपि कति रकम दिनुपर्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।
यस्तो कानुन बनाउने अष्ट्रेलिया विश्वको पहिलो देश बनेको छ । अष्ट्रेलियाको यो नयाँ कानुन विश्वभरका नियामक निकायका लागि नयाँ मोडेल सावित हुनसक्ने छ । अष्ट्रेलियाको कानुनमा सूचना प्रविधि सम्बन्धी कम्पनीहरुले समाचार सामग्रीका लागि रकम तिर्नुपर्ने भनिए पनि अझैसम्म कति रकम तिर्ने भन्ने कुरा स्पष्ट भइसकेको छैन । बीबीसी