वीरगंजमा भोली मध्यान्ह १२ बजेसम्मका लागि कर्फ्यु 



वीरगंज ।  वीरगंजको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ ।

वीरगंज महानगर आसपासको क्षेत्रमा साँझ साढे६ बजेदेखि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एउटा सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोली मध्यान्ह १२ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

वीरगंजको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको हो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगंजमा शोभायात्रा निकालिएको थियो ।

उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।