

हट्यो तीनकुने क्षेत्रको कर्फ्यु, निरीक्षणमा जाँदै गृहमन्त्री

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।
रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज (शनिबार ) बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।
कर्फ्यु हटेपछि गृहमन्त्री रमेश लेखकले अहिले बिहान उक्त क्षेत्रको निरीक्षण गर्ने भएका छन् ।
शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए ।
शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।