

नेपालसँग सम्बन्ध थप सुदृढ गर्न चाहन्छौँ : अमेरिका

काठमाडौं – नेपालसँगको सम्बन्ध थप सुदृढ गर्न चाहेको अमेरिकी राष्ट्रपति जोसेफ आर बाइडेनले बताएका छन् ।
अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाको ओहोदाको पत्र बुझेपछि पठाएको प्रतिक्रियामा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । साथै साझा मुद्दामा नेपाल र अमेरिकाले सहकार्य गर्नेसमेत उल्लेख गरेका छन् ।
कोरोनाका कारण भौतिक भेटमार्फत नभएर अमेरिकी राष्ट्रपतिले विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र विदेश मन्त्रालयमार्फत बुझ्दै आएका छन् । ओहोदाको प्रमाणपत्र बुझेर राष्ट्रपतिले सम्बन्धित राजदूतलाई पनि कूटनीतिक च्यानलमार्फत जवाफ पठाउने गरेका छन् ।
राष्ट्रपति बाइडेनले एक साताअघि नेपाली राजदूत खतिवडाको ओहोदाको प्रमाणपत्रसँगै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएका सन्देश प्राप्त गरेका थिए ।