७ भारतीय प्रहरी दूताबासको जिम्मामा



काठमाडौं । बिना अनुमति नेपाल आएका सात जना भारतीय प्रहरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार, ती प्रहरीलाई ठमेलस्थित अलफ्ट होटलबाट नियन्त्रणमा लिइएको हो । फागुन १२ गते काठमाडौं आएका उनीहरू सोही होटलमा बसेका थिए ।

सीआईबीले ती भारतीय प्रहरीलाई नियन्त्रणमा लिएर भारतीय दूतावासको जिम्मा लगाएको थियो ।

प्रहरी स्रोतका अनुसार, दूतावासले उनीहरूलाई हवाई मार्गबाट भारत फिर्ता पठाएको छ ।

पन्जाबाट आएको भारतीय प्रहरी टोली एक जना भारतीय आरोपीको खोजीमा काठमाडौं आएको बताइएको छ । तर, उनीहरूले नेपाल प्रहरीको सम्बन्धित निकायसँग कुनै समन्वय नगरेको आरोप छ ।