

सशस्त्रका बढुवा भएका डिआईजीलाई दर्ज्यानी चिन्ह

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नवबढुवा अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
गृह मन्त्रालयको फागुन २० गतेको निर्णयअनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण ढकाल, दिपेन्द्र कुँवर र विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका छन्।
त्यसैगरी, गृह मन्त्रालय सचिवस्तरको फागुन १ गतेको निर्णयअनुसार प्राविधिक सशस्त्र प्रहरी निरीक्षक वेद प्रकाश यादव प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका छन्। साथै, अवकाश पूर्व संजय कुमार गोईत सशस्त्र प्रहरी नायव उपरीक्षक र प्रकाश सिंह ठकुरी सशस्त्र प्रहरी निरीक्षक पदमा विशेष बढुवा भएका छन्।
महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरूलाई शुभकामना दिँदै थपिएको जिम्मेवारीलाई इमानदारिता र कुशलताका साथ निर्वाह गर्न आग्रह गरे। साथै, उनले सरुवा तथा बढुवा प्रक्रिया पारदर्शी रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूले संगठनलाई के दिन सक्छन् भन्ने भावना लिएर कार्यसम्पादन गर्नुपर्ने बताए।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशीराज दाहालसहित विभिन्न तहका अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।