गोठाटार गोलीकाण्डका मुख्य सुटर गुड्डुलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली



काठमाडौं । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि  गोली चलाएर पटेललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अहिले पटेललाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको छ।

पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन्।

उनको दाहिने घुँडामा दुई गोली लागेको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिन सुरूमा दुई राउन्ड हवाई फायर गरेको थियो।

२०७९ असोज ३ गते साँझ सर्लाहीका व्यापारी लाल मोहम्मदको गोठाटारमा गोली प्रहार गरी हत्या गरिएको थियो। घटनामा संलग्न मुख्य सुटरमध्ये भारतीय नागरिक पटेल रहेको प्रहरीले जनाएको छ।

‘घाइते अवस्थाका पटेललाई अहिले उपचारको लागि ट्रमा सेन्टरमा राखिएको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले भने।