

शिवमन्दिर जाँदै गरेको भ्यान कालीगण्डकीमा खस्यो, चालक सुनदेवीको मृत्यु, ३ जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित गुइठेभिरमा यात्रु बोकेको इको भ्यान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बेनी–जोमसोम–कोरला सडकखण्डमा चलिरहेको बा ६ च ४९४४ नम्बरको इको भ्यान अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरबाट नारच्याङ जाँदै गर्दा सडकबाट अन्दाजी १५० मिटर तल खस्दा कालीगण्डकी नदी किनारमा पुगेको हो ।
सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीका अनुसार उक्त भ्यानको चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरी थप उपचारका लागि पोखरा अस्पताल पठाइएको छ ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहायतामा घाइतेहरूको उद्दार गरिएको थियो । दुर्घटनाग्रस्त भ्यान नारच्याङस्थित शिव मन्दिर दर्शन गर्न जाँदै गरेका यात्रुहरू बोकेको बताइएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।