

प्रकृतिकाे शव आज साँझसम्म नेपाल ल्याइसकिने

काठमाडौं । भारत उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ ।
भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ । शव आज साँझसम्म घर पुर्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रकृतिका बुबा सुनिल लम्साल मंगलबार बिहान ८ बजे भुवनेश्वर पुगेका थिए ।
गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिको शंकास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै आक्रमण र दुर्व्यवहार गरेको थियो । सयौं नेपाली विद्यार्थीलाई होस्टलबाट निकालिएको थियो । अहिले पनि करिब एक हजार नेपाली विद्यार्थी विभिन्न सहरमा पुगेका छन् । केही नेपाल आइपुगेका छन् ।
नेपाल र भारतमै पनि चर्को आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेको छ । प्रहरीले नौजनालाई पक्राउ गरेको थियो । जसमध्ये पाँचजना २० हजार धरौटीमा छुटेका छन् ।
प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका कलेजकै अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भइरहेको छ ।