

पीडा पनि कस्तो ? मलामी नपाएर आमाको लाश कुरिरहन विवश ‘प्रकाश’…
सरकार ! अबका दिनमा यस्ता समाचार लेख्न, पढ्न अनि सुन्न पनि नपरोस् ल !

प्रकाश टेलर । नामको अर्थ उज्यालो भन्ने नै होला, तर ३० वर्षको उमेरमा उनले फागुन ३ गतेलाई सबैभन्दा अँध्यारो दिनका रुपमा मान्छन् होला सायद । दलित भएकै कारण आफूलाई जन्म दिने आमाको मृत्युपछि अन्तेष्टी गर्नका लागि मलामी नपाउनु त्यो भन्दा अँध्यारो र ग्रहण कसको जीवनमा लाग्ला र ?
तर बैतडीको सिगास गाउँपालिका वडा नं. १ को अंगेडाँडाका बासिन्दा प्रकाश टेलरले त्यस्तै भोगे । स्थानीय विद्यालयमा शिक्षकको रुपमा काम गर्ने प्रकाशकी ६१ वर्षीया आमा माना टेलरले शनिबार बिहानै घरमै ज्यान गुमाइन् । वृद्ध लोग्ने र छोरालाई छाडेर माना परलोक गइसकेकी थिइन्, तर घाटसम्म पुर्याउनका लागि समाजले साथ नदिँदा आमाको शव ‘बासी’ राख्न बाध्य भए प्रकाश । लाश बासी राख्न हुन्न भन्ने समाजले ‘जिउँदाका जन्ती मर्दाका मलामी’ भन्ने उखानलाई किन अनुशरण गरेनन् ? त्यो अंगेडाँडाबासीलाई नै थाहा होला ।
अंगेडाँडा दलित समूदायकै विभिन्न उपसमुदायका दलितहरुको समाज हो । गाउँमा विश्वकर्मा, लोहार, चुनारा, सार्कीहरुको बसोबास रहेको छ । त्यसबाहेक अन्य माथिल्ला भनिएका समुदायका बासिन्दाहरुको समेत बसोबास रहेको उक्त गाउँमा मानाको शव उठाउन कोही तयार भएनन् । र, बाध्य भए प्रकाश वृद्ध बाबु र मृत आमालाई घरमै कुरेर बस्न ।
दिवंगत आमाको शव दैलामा सुताएर मलामी खोजी गर्दा काँध हाल्ने मान्छे नभेटेका प्रकाशले भेटे एउटा ट्याक्टर, त्यसमै लगेर आमाको अन्तेष्टी गर्ने भए । राती ८ बजेबल्ल एउटा ट्याक्टर भेटेका प्रकाशले आइतबारमात्रै आमाको अन्तेष्टी गर्ने जनाइएको छ ।
यस संसार देखाउने आमाको निधनबाट भावविह्वल भएका प्रकाशले गाउँमा सयौं मान्छे भए पनि शव उठाउने साथ पाउन सकेनन् । उनले भने, ‘गाउँमा सयौं मानिस भए पनि आमाको शव उठाउन कोही तयार भएन । कसैसँग कुनै दुश्मनी छैन, तर जातीय सोच बदल्न सकेका छैनन् ।’
शनिबार आमाको निधन भएपछि प्रकाशले पुर्ख्यौली गाउँ पाटन नगरपालिका–४, बगाडी अनि कञ्चनपुरको महेन्द्रनगर र दोधाराचाँदनीका आफन्तलाई खबर गरेपछि उनीहरु आउने जानकारी पाएपछि भने प्रकाशको मन केही हल्का भयो । ‘सान्त्वना दिने धेरै छन्, सहानुभूति देखाउनेहरू पनि छन् । तर मलामीका लागि काँध दिने कोही छैन,’ प्रकाश थप भावविह्लव हुँदै भन्छन् ।
उनले दलित भएकै कारण मलामी पाएनन् वा गाउँमा मान्छे नभएरै मलामी पाएनन्, त्यसकाे खोजी त अवश्य पनि प्रशासनले गर्ला, स्थानीय सरकारले गर्ला । तर, अबका दिनहरूमा यस्तो समाचार लेख्न, पढ्न अनि सुन्न पनि नपरोस् सरकार !