ड्युटीका प्रहरी कुट्ने अखिल नेता पक्राउ



काठमाडौं । काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् । उनलाई प्रहरीले बिहीबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

सत्तारूढ दल नेकपा एमालेको भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै संसदमा समेत चर्को विरोध भएको थियो ।

यसअघि ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उनीहरु सबैलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । माघ २४ गते उनीहरूको समूहले प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) माथि आक्रमण गरेको थियो ।

यसअघि पक्राउ परेका दुई जनालाई अभद्र व्यवहारको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ ।