बढ्दै प्रहरीभित्र असन्तुष्टी, ६ महिनामा एसएसपीसहित ८०९ ले दिए राजीनामा !



काठमाडाैं । नेपाल प्रहरीमा पछिल्लो समय जागिर छोड्ने दर तीव्र रूपमा बढ्दै गएको छ ।

सेवा–सुविधा, बढुवा प्रक्रिया, कार्यभारको चाप र पारिश्रमिकप्रति असन्तुष्टि बढ्दै जाँदा तल्लो तहका प्रहरीहरू जागिर छोड्न बाध्य भइरहेका छन् । पछिल्लो छ महिनामा मात्र ८०९ प्रहरी कर्मचारीले राजीनामा दिएका छन्, जसमा एक जना एसएसपीसमेत छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, पुस महिनामात्रै १७१ जनाले राजीनामा दिएका छन् भने कात्तिकमा सबैभन्दा धेरै २८३, मंसिरमा १२७, असोजमा ४५, भदौमा ५८, र साउनमा १२५ जनाले जागिर छोडेका थिए । प्रहरी संगठनभित्रै यस्तो प्रवृत्ति बढ्दै जाँदा, उच्च तहमा सुधार प्रयास भइरहे पनि तल्लो तहमा भने निराशा फैलिएको देखिन्छ ।

किन बढ्दै छ राजीनामा दिने संख्या ?

नेपाल प्रहरीको संरचनागत समस्याका कारण तल्लो तहका कर्मचारीहरू करियर ग्रोथको अवसर नपाएर निराश छन् । जवान पदमा भर्ना भएकाहरू वरिष्ठ हवल्दारसम्म मात्र पुग्ने, असइ बनेका प्रहरीहरू वरिष्ठ सइकै पदबाट अवकाश लिनुपर्ने बाध्यता छ । यसले प्रहरी संगठनमा दीर्घकालीन सेवा गर्ने मनोवृत्तिमा गिरावट ल्याएको छ ।

त्यस्तै, अत्यधिक कार्यभार, न्यून तलब, सरुवा–बढुवामा पारदर्शिताको अभाव र भविष्यप्रति अनिश्चितताका कारण प्रहरीहरू जागिर छोडेर वैकल्पिक अवसर खोज्न थालेका छ न्। केही प्रहरी विदेश जानतर्फ आकर्षित भइरहेका छन् भने कतिपय निजी सुरक्षासम्बन्धी रोजगारतर्फ लागेका छन् ।

दिनहुँ १० जनासम्मले राजीनामा दिन थालेपछि प्रहरी प्रधान कार्यालयले ‘सेवा–सुविधामा कुनै कटौती नभएको’ भन्दै सर्कुलर जारी गरेको छ । यद्यपि, प्रहरीहरू भोगिरहेको समस्या समाधानका लागि ठोस नीतिगत परिवर्तन नभएसम्म राजीनामा दर घट्न कठिन देखिन्छ ।

सरकार र प्रहरी नेतृत्वले तल्लो तहका प्रहरी कर्मचारीहरूको समस्या गम्भीर रूपमा लिएन भने, योग्य र अनुभवी जनशक्ति निरन्तर गुम्ने सम्भावना छ । यसले प्रहरी संगठनभित्र मनोबल गिराउने मात्र होइन, मुलुकको सुरक्षा व्यवस्थामा समेत दीर्घकालीन असर पार्न सक्छ ।

प्रहरी संगठनलाई सुदृढ बनाउन सरकारले तल्लो तहका प्रहरीहरूको सेवासुविधा सुधार, बढुवा प्रक्रिया पारदर्शी बनाउने र कार्यभार सन्तुलन गर्ने उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । अन्यथा, प्रहरी संगठनभित्रको असन्तुष्टि अझै चुलिने खतरा छ ।