

१४ सय भाडा नदिँदा घरबेटीले गरे रूद्रबहादुरको हत्या

पाल्पा । पाल्पाको तानसेनमा घरभाडा विवादका कारण डेरामा बस्दै आएका एक मजदुरको हत्या भएको छ । तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले आफ्नै घरमा डेरा लिएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीलाई हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुढाथोकी पछिल्लो ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्दै आएका थिए । मासिक पाँच सय रुपैयाँ भाडा तिर्ने सहमति भए पनि १४ सय रुपैयाँ तिर्न बाँकी रहेको विषयमा विवाद भएको थियो । विवादकै क्रममा विष्टले मदिरा सेवन गरेपछि आक्रोशित भएर बुढाथोकीमाथि हँसिया प्रहार गरेका थिए ।
माघ २३ गते बिहान ८ बजेतिर बुढाथोकी आफ्नै डेराको कोठामा मृत फेला परेका थिए । उनको शव नाक, निधार, मुख तथा सुतेको खाटभरि रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । सोही आधारमा प्रहरीले घरबेटी विष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले हत्या गरेको स्वीकारेका छन्।
प्रहरीका अनुसार विष्ट दैनिक मदिरा सेवन गर्ने व्यक्ति हुन् । हाल उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।