आज शहीद दिवस, विभिन्न कार्यक्रमसहित शहीदको सम्झना गरिँदै

काठमाडौं । नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरूको सम्मानमा बुधबार शहीद दिवस मनाइँदैछ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइन्छ ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा शहीद शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो। यस्तै गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।

२०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। अचेल माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाउने गरिएको छ।

दिवसका अवसरमा बुधबार बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि गरिँदैछ। प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि स्मारक लैनचौर पुगी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *