

झापाबाट प्रधानमन्त्रीले भने, ‘ढुक्क हुनुहोस्, म देशका लागि थप केही गर्छु’

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३ स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन भइरहेको बताएका छन् ।
जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाए ।
‘देश बनाउन हामी सबै एकताबद्द हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईहरुको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु।’
कुल ५० करोड सात लाख ९२ हजार रुपैयाँ लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २, ३ र ४ का ६ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जनसंख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रथम महिला राधिका शाक्य, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सघीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलगायत उपस्थित थिए ।
प्रधानमन्त्री ओलीले आइतबार देशकै अग्लो १८ तले दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका थिए ।