

दुर्घटनामा बुवाको मृत्यु, दुई छोरा घाइते

काठमाडौं । उदयपुरमा ट्रक दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। त्रियुगा नगरपालिका-१३ असारीस्थित दनुवारी चोकबाट गाईघाटतर्फ आउँदै गरेको स१त ५७४२ नम्बरको ट्र्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकल बुधबार साँझ एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको र सवार दुई जना छोरा घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरेको थियो।
दुर्घटनमा मोटरसाइकल चालक ४५ वर्षीय महादेव चौधरीको ज्यान गएको छ। घाइते छोराहरू १५ वर्षीय दिवाकर चौधरी र १० वर्षीय कृष्ण चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएमा थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको छ। प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।