३ बिमला अर्याल, जो छन् एकै ठाउँमा खरिदार, सुब्बा र अधिकृत



रूपन्देही । संयोग पनि अचम्मकै छ । कतिपय परिवेशमा मान्छेको नाम जुध्दा अनेक दुःख पाएका घटना सुनिन्छ । अधिकांश समय प्रहरीले नाम मिलेकै भरमा अनुसन्धानको दायरामा लिएर पक्राउ गरेका घटनाहरु सुनिनु नौलो होइन, तर उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा नाम जुधेको अनौठो सुखद संयोग जुटेको छ ।

बुटवल इजलासमा कार्यरत बिमला अर्याल नामका ३ कर्मचारी छन् । ती पनि एउटै जिल्ला गुल्मीका । सरकारी कर्मचारी भन्नेबित्तिकै सबैभन्दा पहिले आउने नाम हो गुल्मी । त्यसैमाथि यी ३ बिमला सबै मालिका गाउँपालिकाका । उनीहरु ३ जना फरक पदमा कार्यरत छन्, एउटी खरिदार, अर्की नायब सुब्बा अनि अर्की चाहिँ शाखा अधिकृत ।

मालिका गाउँपालिकाका ३ बिमला अर्याल अहिले बुटवल इजलासमा कार्यरत् छन् । ती मध्ये कान्छि अर्थात् खरिदार पदमा कार्यरत बिमलाको घर मालिका हो भन्ने अन्य दुई बिमलाका माइती ।

१६ महिना अघि लोकसेवा उत्तीर्ण गरि जिल्ला अदालत गुल्मीमा पदस्थापन भएकी खरिदार बिमला हालैमात्र उच्च अदालत सरुवा भएकी छिन् । शिक्षण पेशामा रहेकी बिमला लोकसेवा पास गरेपछि जिल्ला अदालत हुँदै उच्च अदालतको यस इजलासमा खटिएकी हुन् । गुल्मीको मालिका गाउँपालिका–७ की बिमलासँगको कुराकानीमा आफूहरु तिनैजना बीच नातासम्बन्ध रहेको समेत खुलाइन् । उनले भनिन्, ‘हामी तीनै जना एकै जिल्लाका हौं, नातामा दिदीबहिनी पर्छाैं ।’

उनले थपिन्, ‘कार्यालय अर्यालहरुले भरिने भयो । बिमला कार्यालय हुने भयो’’ भन्दै जिक्काउने गर्छन् ।’

त्यस्तै अर्की २७ वर्षीया बिमला अर्याल चाहिँ नायब सुब्बा छिन् । मालिकाकी बिमला अहिलेसम्म त्यहीँ कार्यरत छिन् । दुईवर्षदेखि यस इजलासमा काम गर्दै आएकी सुब्बा बिमला दरबन्दी यहीँ भए पनि अर्को साताबाट काजका लागि भैरहवा जिल्ला अदालतमा खटिँदैछिन् ।

त्यस्तै अर्की बिमला हुन् – शाखा अधिृकत । उनी यस इजलासमा विगत ८ महिनादेखि कार्यरत छिन् । नवलपरासी जिल्लामा दरबन्दी भएकी बिमलाको माइती गुल्मीको मालिका हो ।

तीन जना एउटै नामका कर्मचारी हुँदा काममा असर परेको नपरेको बारेमा इजलासका रजिष्ट्रार प्रेम पौडेलसँग राखेको जिज्ञासामा पौडेलले कामको जिम्मेवारी फरक फरक रहेको हुनाले त्यसमा कुनै फरक नपरेको जनाए । उनले तीनैजना बिमलाको कार्य सम्पादन उत्कृष्ट रहेको समेत जनाए । –कागजपत्रडटकम