

मृग भनी हानेको गोली साथीको छातीमा लाग्दा…

खोटाङ । जंगलमा शिकार गर्न जाँदा एक साथीले हानेको बन्दुकको गोली लागेर अर्का साथीको मृत्यु भएको छ ।
खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका—१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको सँगै शिकार खेल्न जंगल गएका २५ वर्षीय चेतन राईले हानेको बन्दुकको गोली लागेर बुधबार राती मृत्यु भएको हो ।
चेतनले मृग भनेर हानेको गोली जगतप्रसादको छातीमै लागेपछि घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने जगतप्रसादको शव जिल्ला सदरमुकाम लगिएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।