

डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो ।
दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।