

सगरमाथासहित ६ हिमालको सरसफाइ गर्न साढे १२ करोड लाग्ने

काठमाडौं – नेपाली सेनाले ६ वटा हिमालको सफाइ गर्ने भएको छ । दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यस पटक ६ वटा हिमाल सफाइ गर्न लागेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका अनुसार यसपालि सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमालको सफाइ हुने छ ।
सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, पासाङ ल्हामु गाउँपालिका, थासाङ गाउँपालिका, मकालु वरुण गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यु एसोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहकार्य रहने नेपाली सेनाले जनाएको छ ।
२०७७ सालको चैत ३१ गते आरोहण टोलीलाई ब्यानर हस्तान्तरण गरेर अभियानको सुरु हुने र २०७८ सालको जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ । अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहनेछ ।
हिमाल सफाइका लागि सेनाले मुस्ताङको जोमसोममा विशेष तालिम हुने जनाएको छ । हिमाल सफाइका लागि १२ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसमध्ये नेपाली सेनाको साढे दुई करोड र वन तथा वातावरण मन्त्रालयले १० करोड रुपैयाँ खर्च गर्नेछ ।