

पेट्रोलियम पदार्थको मूल्य वृद्धि : यातायात व्यवसायीद्वारा ४० प्रतिशत भाडा बढाउन माग

काठमाडौं – यातायात व्यवसायीहरूले भाडा दर बढाउनु पर्ने माग राखेका छन् । उनीहरूले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाउदै ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग राखेका हुन् ।
सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक९पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो ।
महासङ्घले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएको छ । तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ ।
एक हप्तामै लिटरमा ४ रुपैयाँ मूल्यवृद्धि भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पनि यातायात व्यवस्था विभागसँग भाडा बढाउन माग गरेका हुन् ।