कटहरियाका निलम्बित मेयर जैसवालमाथि छानबिन गर्दै अख्तियार



रौतहट । विशेष अदालतबाट दोषी ठहर भएपछि निलम्बनमा परेका कटहरियाका मेयर अजय प्रकाश जैसवालविरुद्ध अख्तियारमा परेका कैयौँ उजुरीमाथि छानबिन सुरु भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दापछि दोषी ठहरिएका रौतहटको कटहरिया नगरपालिकाको मेयर पदमा निर्बाचित भएदेखि नै पटकपटक आर्थिक बिवादमा पर्दै आएका थिए ।

मेयर जैसवालले कटहरिया नगरपालिकामा मनपरी तरिकाले आवश्यकता भन्दा बढी कर्मचारी नियुक्त गरेको भन्ने समेतको व्यवहोरा उ. द. न. १९४८-००७१७३५,२०८१ जेठ ८ गतेको उजुरी सम्बन्धमा छानबिन भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

त्यस्तै कटहरिया नगरपालिका स्वास्थ शाखा संयोजक शंकर प्रसाद यादवले आर्थिक बर्ष २०८०/०८१ मा स्वास्थ्यका बिभिन्न गतिबिधि सञ्चालन गर्न ३३ लाख रुपैयाँ पेस्की लिएकोमा ५० प्रतिसत रकम मेयरको बुवा ओम प्रकाश जैसवाललाई बुझाएको र ५० प्रतिशतको कामै नगरी किर्ते सहीछाप गरी किर्ते माईन्युट तयार गरिरहेको भनेर उजुरी परेको थियो ।

यी लगायत अन्य उजुरीहरू पनि परेका जैसवालविरूद्ध अख्तियारले छानबिन गरिरहेको छ ।