

हुम्लामा जिप दुर्घटना, ७ जना घाइते, ५ काे अवस्था गम्भीर

हुम्ला । जिल्लाको चङ्खेलीमा जिप दुर्घटना भएको छ ।
बुधबार बिहान चङ्खेली– २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१च ०९२२ नम्बरको बोलेरो जिप गाैरीसल्लामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। सातजना सवार जिपमा पाँचजना गम्भीर घाइते भएको र दुईजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका– १३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् ।
बाजुरा बुढीनन्दा नगरपालिका– ४ का सवारीचालक महेन्द्रविक्रम शाह र चङ्खेली– २ का मायादेवी शाही सामान्य घाइते भएका छन् ।
गौरीसल्लाको मोडमा मोड्ने क्रममा सडकबाट जिप एक सय ५० मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनापछि मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरिएको हो ।