उर्जा मन्त्री खड्काद्वारा विद्युत प्राधिकरणको वार्षिकोत्सवमा वृक्षारोपण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९ औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयमार्फत मंगललबार वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रीड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यारत कर्मचारीहरूले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षरोपण गरेका हुन् ।

कार्यालयले आ-आफ्नो क्षेत्रको हावापानी र माटो अनुरूपका फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेका छन् । जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण गर्दा रूख काट्ने मात्र हैन रूख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो ।

प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले विभाग परिसरमा बिरुवा रोपी वृक्षरोपण कार्यको सुरुवात गरेका थिए ।

विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डल, प्राधिकरण सञ्चालक समितिका सदस्यद्धय कपिल आचार्य तथा रतनबहादुर ऐर, कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीबाट बिरुवा रोपिएको जनाइएको छ ।

कार्यक्रममा मन्त्री खड्काले जलविद्युत आयोजना र प्रसारण लाइन निर्माण वन क्षेत्रमा प्रभाव पर्ने भएकाले यसको क्षति न्यूनीकरणका लागि वृक्षरोपण महत्त्वपूर्ण कार्यक्रम भएको बताए । सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य र आन्तरिकरूपमा खपत गरी अतिरिक्त विद्युत् निर्यात गर्ने लक्ष्य तय गरिएको उल्लेख गर्दै मन्त्री उनले लक्ष्य पूरा गर्न जलविद्युत् निर्माणमा हाल बेहोरिहेका बाधाअवरोध हटाउन कानून संशोधनलगायत कामहरू गर्न क्रियाशील रहने बताए ।

कार्यकारी निर्देशक घिसिङले जलविद्युत र प्रसारण लाइन आयोजना निर्माण गर्दा स्वीकृति लिएर वन क्षेत्रका रूख कटाउन गरिने त्यसको क्षतिपूर्ति बापत र रूख काट्ने मात्र हैन रोप्छौँ भन्ने सन्देश दिन प्राधिकरण आफैँले पनि वृक्षरोपण शुरू गरेको बताए । उनले नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित स्वच्छ ऊर्जा देशभित्र खपत गरी अतिरिक्त भएको छिमेकी देशहरूमा निर्यात गर्न सफलता मिलिरहेको पनि बताए ।